२३ परिवालाई वडाध्यक्षद्वारा व्यक्तिगत राहात वितरण ।

४ बर्ष अघि

२0७६ चैत्र २४ सोमबार

२३ परिवालाई वडाध्यक्षद्वारा व्यक्तिगत राहात वितरण ।

दृष्टिकोण समाचार चैत्र २४ दार्चुला ।महाकाली नगरपालिकाका एक वडाध्यक्षले आफूले व्यक्तिगत रुपमा आफ्ना वडाक्षेत्र भित्रका दैनिक ज्यालामजदुरी गरेर छाक टार्ने २३ परिवारलाई राहात वितरण गरेका छन् । महाकाली नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष एवं नगर प्रवक्ता पुस्करराज जोशीले वडाभित्रका २३ परिवारलाई खाद्यान्न वितरण गरेका छन् । कोरोना भाइरसको संक्रमण नियन्त्रण तथा रोकथामका लागि चैत्र ११ गतेदेखि देशभर लकडाउन घोषणा गरिएको थियो । नेपाल सरकारले लकडाउन घोषणा गरेपछि काम नपाएपछि छाक टार्न मुस्किल भइरहेका श्रमिक तथा असहाय परिवारलाई वडाध्यक्ष जोशीले २० कठ्ठा (पाँच क्वीन्टल) चामल वितरण गरेका छन् । लकडाउनले उनीहरुको साँझ विहानको छाक टार्न समेत मुस्किल भएकाले आफूले व्यक्तिगत रुपमा थोरै भएपनि सहयोग गरेको वडाध्यक्ष जोशीले भन्नु भयो । ‘लकडाउनले उनीहरु भोकै बस्नुपर्ने अवस्था आएकाले यस्तो अवस्थामा थोरै भएपनि सहयोग गर्नुप¥यो भनेर सहयोग गरेको हुँ’ वडाध्यक्ष जोशीले भन्नु भयो । वडाभित्र रहेका दैनिक ज्यालामजुरी गरेर छाक टार्ने तथा असहाय परिवारको तथ्यांक संकलन गरि २३ परिवारलाई खाद्यान्न वितरण गरेको वडाध्यक्ष जोशीले बताउनु भयो । परिवारको आकारका आधारमा उनीहरुलाई खाद्यान्न वितरण गरिएको हो ।  दैनिक ज्यालामजदुरी गरेर परिवार पाल्नुपर्ने तथा बिहान बेलुकीको छाक टार्ने गरेको अहिले लकडाउनले आफूहरुको चुल्होमा आगो नै बल्न नसकेको स्थानीय तुलसी कनौजियाले बताउनु भयो ।‘चुलोमा आगो नबलेको दुई–तीन दिन भयो, काम पाइदैन, छाक टार्न मुस्किल भइरहेको छ’ कनौजियाले भन्नु भयो ।दैनिक ज्यालामजदुरी गरेर दैनिकी चलाइरहेका अर्का स्थानीय पशुपती सदाशंकरको पनि यस्तै पीडा छ । पारिवारिक जिम्मेवारी सम्हालेका व्यक्ति(बुवा) गुमाएका पशुपती अहिले आफैले ८ जनाको परिवार धान्नु परेकाले लकडाउनले समस्यामा परेको बताउनु भयो । अहिले आफूले व्यक्तिगत रुपमा मात्रै सहयोग गरेको र स्थानीय सरकारले पनि तथ्यांक संकलन गरिरहेकाले राहात वितरण गरिने उहाँको भनाई छ । ‘स्थानीय सरकारले पनि राहात वितरणका लागि तथ्यांक संकलन गरिरहेको छ, केही समय लाग्छ होला’ वडाध्यक्ष जोशीले भन्नु भयो ।