स्थानीय तहमा प्रवेश गर्ने नाकाहरूमा कडाई ।

४ बर्ष अघि

२0७६ चैत्र २४ सोमबार

स्थानीय तहमा प्रवेश गर्ने नाकाहरूमा कडाई ।

दृष्टिकोण समाचार चैत्र २४ दार्चुला ।काेरोना भाइरस (कोभिड १९) को जोखिम बढ्दै गएपछि दार्चुलाका स्थानीय तहमा प्रवेश गर्ने नाकाहरुमा पनि कडाई गरिने भएको छ । शनिबार कैलाली र कञ्चनपुरमा थप तीन जना संक्रमित भेटिए सँगै जिल्लाका स्थानीय तह प्रवेश गर्ने नाकामा चेक जाँचलाई कडा पारिएको हो । मार्मा गाउँपालिकाले आइतबार सार्वजनिक सूचना जारी गर्दै बन्दाबन्दीको पूर्ण पालना गर्न र एक घरबाट अर्को घरमा आवतजावत नगर्न आग्रह गरेको छ । मार्मा गाउँपालिका अध्यक्ष जमनसिह धामीको अध्यक्षतामा बसेको बैठकले गाउँपालिकामा कोरोना संक्रमण फैलिन नदिन गाउँपालिका भित्र लकडाउनको समयमा बिटुले बिनायक रेला परमचुली र दुनि लगायतका सम्पुर्ण नाका आवातजावतमा पुर्ण रुपमा बन्द गर्ने निर्णय गरेको छ । यस्तै गाउँपालिकाभित्र अत्यावश्यक पास लिएर सञ्चालन भएका गाडीहरु पूर्ण रुपमा रोक लगाउने निर्णय गरिएको अध्यक्ष धामीले बताउनुभयो । यस्तै बैठकले गाउँपालिकाभरीका रहेका श्रमिक बर्ग तथा असहायहरुलाई राहत उपलब्ध गराउने भएको छ । गाउँपालिकाभरी संकलन गरिएको तथ्यांक आधारमा गाउँपालिकाले गाउँपालिका भित्रका ४५ जना असहाय परिवारलाई पहिलो चरणमा राहत दिने भएको छ । यस्तै जिल्ला बाहिरबाट आएर मार्मा गाउँपालिकामा रोकिएका घर जान नपाएका दैनिक ज्यालादारीमा काम गर्ने २३ जनालाई समेत राहत उपलब्ध गराउने बैठकले निर्णय गरेको अध्यक्ष धामीले बताउनुभयो । उनीरुलाई सोमबारदेखि राहत वितरणको तयारी गरिएको छ । यस्तै बैठकले मार्मा गाउँपालिका कार्यपालिका सदस्यहरुको ६ दिन बराबरको बैठक भत्ता विपद कोषमा जम्मा गर्ने निर्णय गरिएको छ । भने गाउँपालिकाभरी कार्यरत रहेका  कर्मचारी, शिक्षक लगायतलाई विपद् कोषमा रकम जम्मा गर्न अपिल गर्ने बैठकले निर्णय गरेको छ । यसैबीच मार्मा गाउँपालिकामा कार्यरत सव इन्जिनियर विक्रम जोशीले चैत महिनाको तलब विपद् कोषमा राख्ने घोषणा गर्नुभएको छ । जस असनुसार वडा नम्बर १ मा ५७ जना, वडा नम्बर २ मा १५ जना, वडा नम्बर ३ मा ८ जना, वडा नम्बर ४ मा १० जना,  वडा नम्बर ५ मा २७ जना  र वडा नम्बर ६ मा २८ जनाको तथ्यांक संकलन गरिएको छ । उनीहरु सबैलाई वडामा निगरानीमा राख्ने निर्णय बैठकले गरेको छ ।