दुईसय बढि मजदुरको उद्धार  ।

४ बर्ष अघि

२0७६ चैत्र १५ शनिबार

दुईसय बढि मजदुरको उद्धार  ।

दृष्टिकोण समाचार चैत्र १५ दार्चुला । तीन दिनदेखि भारतको धारचुलामा अलपत्र परेका दुईसय बढि नेपाली मजदुरको मध्यरातीसम्म उद्धार गरिएको छ । नेपाल र भारत दुवैतर्फ देशनै लकडाउन भएको बेला भारत पिथौरागढको धारचुलामा अलपत्र परेका कुल २ सय २५ जना नेपालीको शुक्रबार बेलुकी उद्धार गरिएको हो । भारतको धारचुलामा नौगाड गाउँपालिकाका ५८ जना, मार्मा गाउँपालिकाका ६९ जना, महाकाली नगरपालिकाका ९ जना, दुहुँ गाउँपालिका १५ जना, मालिकार्जुन गाउँपालिका १ जना, लेकम गाउँपालिकाका २ जना, रहेका छन् । यस्तै बैतडीका ४१ जना, बझाङका १२ जना, बाजुरा जिल्ला बुढिनन्दा नगरपालिकाका २ जना, कैलाली लम्की चुहाका ४ जना, बाके कोहलपुरका ३ जना र जाजरकोट कुशे गाउँपालिकाका ९ जनाको उद्धार गरिएको हो । उद्धार गरिएका सबै नेपालीलाई सम्बन्धित स्थानीय तहको जिम्मेवारी लगाउने गरी खलंगाबाट राती नै पठाइएको छ । पिथौरागढ जिल्लाको डिडिहाट कालिका, मुन्स्यारी, लगायतका क्षत्रेमा काम गर्दै आउनुभएका नेपालीहरु घर फर्किने क्रममा तीन दिनदेखि धारचुलामा अलपत्र परेका थिए ।  विश्वव्यापी रुपमा फैलिरहेको कोराना भाइरस ९कोभिड–१९० को सन्त्रासका कारण भारतबाट नेपालीहरु दिनहु घर फर्किरहेका छन् ।  यसअघि पनि नेपाल भारत लकडाउन घोषणापछि एक सय ७८ जना नेपाली भारतका विभिन्न क्षेत्रबाट घर फर्किएका थिए ।  धारचुलामा पुगेका उनीहरुको अवस्था नाजुक भएको फोटोहरु भाइरल भएपछि उद्धारको तयारी गरिएको थियो । उद्धारको लागि वारीपारी दार्चुला धारचुलाका अधिकारी सुरक्षा अधिकारी, र स्थानीय स्तरमा निरन्तर समन्वय भएको थियो ।  दुवैक्षेत्रको समन्वय पछि पूल खोलिएको हो । उनीहरुलाई सदरमुकाम खलंगास्थित महेन्द्रमावि खलंगामा राखेर स्वास्थ्य चेकजाँच तथा उनीहरुको तथ्यांक राखिएको जनस्वास्थ्य अधिकृत जयराज भट्टले बताउनुभयो । सबै मजदुरहरुको स्वास्थ्य चेकजाँच तथा नाम ठेगाना र सम्पर्क नम्बरसहितको तथ्यांक राखिएको छ । उद्धार गरिएका सदरमुकाम खलंगाबाहिर पठाउन महाकाली नगरपालिकाले यातायातको व्यवस्थापन गरेको छ । भने उनीहरुलाई २ वटा चाउँचाउ आधा किलो चिउँरा र प्रति व्यक्ति एक बोतल खानेपानीको प्रबन्ध नगरपालिकाले गरेको नगर प्रमुख हंशराज भट्टले जानकारी दिनुभयो । उद्धार गरिएका सबैलाई २ वटा बस, र ५ वटा जीपले सम्बन्धित क्षेत्रमा पुर्याउन पठाइएको जिल्ला प्रहरी कार्यालयले दार्चुलाले जनाएको छ । उनीहरुलाई नेपाल भित्र्याउने कि नभित्र्याउने विषयमा शुक्रबार दिनभर महाकाली नगरपालिकामा बैठक समेत बसेको हो । जिल्ला समन्वय समिति प्रमुख करबीर बहादुर कार्कीको अध्यक्षतामा बैठक बसेको थियो । बैठकमा महाकाली नगरप्रमुख हंशराज भट्ट, प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेल, सुरक्षा निकायका प्रमुख लगायत सरोकारवालाहरुको सहभागिता रहेको थियो ।