नेपाल एअरलाइन्सको जहाज अाैषधी लिन चीन जाँदै।

४ बर्ष अघि

२0७६ चैत्र १५ शनिबार

नेपाल एअरलाइन्सको जहाज अाैषधी लिन चीन जाँदै।

चैत्र १५ काठमाडौ । नेपाल एअरलाइन्सको जहाज अाैषधी लिन शनिबार चीन जाँदै छ। सरकार र नीजि क्षेत्रले चीनमा खरिद गरेका औषधी र मेडिकलजन्य सामग्री लिन वाइडबडी जहाज आज दिउँसो साढे १२ बजे चीनको ग्वान्झाउ जान लागेको हो। औषधी र अन्य मेडिकलजन्य सामग्री बोकेर जहाज आजै राति ११ बजेको हाराहारीमा नेपाल फर्कने छ। जहाजले कोरोनोको उपचार लक्षित औषधी, डाक्टरले लगाउने पर्सनल प्रोटेक्टिभ युनिट पीपीई, भेन्टिलेटर लगायतका सामग्री ल्याउने छ। जहाजमा नेपाल एअरलाइन्सका बाहेक अरु कर्मचारी नरहने अपरेसन विभागका प्रमुख क्याप्टेन दिपु जुहार्चनले बताए। जहाजमा ४ जना पाइलट, २ जना इन्जिनियर, लोड मास्टर लगायत १० जना मात्रै रहनेछन्। स्वास्थ्य मन्त्रालय र नीजि क्षेत्रका प्रतिनिधि जहाजमा नरहने उनले बताए। यस्तै नेपाल एअरलाइन्सले चीनमा थप ३ वटा उडान गर्ने भएको छ। एअरलाइन्सले अप्रिल २, ३ र ४ तारिखमा पनि चीन जाने तयारी गरेको छ। अपरेशन विभागका प्रमुख जुहार्चनका अनुसार अप्रिल २ तारिखमा पनि जहाज ग्वान्झाउ नै जाने भएको छ। अप्रिल २ तारिखको उडानको लागि ९० प्रतिशत तयारी पूरा भैसकेको उनले बताए। यस्तै अप्रिल ३ मा पनि ग्वान्झाउ र ४ तारिखमा कुम्निङमा चार्टडको तालिका रहेको उनले बताए।