वातावरणीय प्रभाव मूल्याङ्कन बिना नै सडक निर्माण गरिदा बन बिनास बढ्दो

६ बर्ष अघि

२0७५ असार १४ बिहीबार

वातावरणीय प्रभाव मूल्याङ्कन बिना नै सडक निर्माण गरिदा बन बिनास बढ्दो

कृष्ण धामी  दार्चुला । अहिले दार्चुला जिल्लाका सबैजसो स्थानीय तहहरुको विकास निर्माणको पहिलो प्राथमिकतामा सडक परेको छ । पहाडी क्षेत्रमा रहेका बस्तीहरुमा सडक सञ्जाल पु¥याएर अरु विकास निर्माणलाई समेत टेवा पुग्ने भएपछि स्थानीय तहहरुले सडकलाई पहिलो प्राथमिकता दिएका हुन् । चालु आर्थिक बर्ष सम्पन्न हुन दुई हप्ता बाँकी रहेको बेला दार्चुला जिल्लाका अपिहिमाल, व्याँस, र दुुहुँ गाउँपालिका बाहेक अन्य ६ वटा स्थानीय तहहरुले सडक खन्नेकाम गरिरहेका छन् । स्थानीय तहहरुले सडक निर्माण गर्ने बेला बातावरणीय प्रभाव मूल्याङ्कन बिना नै सडक निर्माणको काम गर्दा यसबाट बनजंगल विनास हुँनुका साथै अन्य विकास निर्माणहरु पनि प्रभावित भईरहेको विभिन्न क्षेत्रका स्थानीयहरुले बताएका छन् । 

जिल्लाका ६ वटा स्थानीय तहहरु महाकाली नगरपालिका, शैल्यशिखर नगरपालिका, नौगाड, मालिकार्जुन, लेकम र मार्मा गाउँपालिकामा कम्तीमा पनि प्रति स्थानीयतहमा ५ भन्दा बढी ग्रामिण सडकहरु निर्माण भईरहेका छन् । 
सडक निर्माण गर्दा बाटोघाँटो हुनु एकातिर फाइदा भएपनि अर्को तर्फ भने यसबाट धेरै नोक्सानी पनि जनताले बेहोर्र्नु परेको छ । ठूला योजना निर्माण गर्दा त्यसले बातावरणमा पार्ने प्रभाव कम गर्न तथा बातावरण मैत्री योजना निर्माण गर्नु पर्ने भएपनि जिल्लाका कुनै पनि स्थानीय तहहरुले आफूहरुसँग समन्वय नगरेको जिल्ला बन अधिकृत संजय तिवारीले बताए । ‘अहिले स्थानीय तहहरु स्वायत्त निकाय हुन्, तर पनि उनीहरुले योजना बनाउँदा बातावरण मैत्री बनाउनु पथ्र्यो, हामी कहाँ कसैले पनि समन्वय गरेनन् ।’ जिल्ला बन अधिकृत तिवारीले भने ।


विभिन्न ग्रामिण क्षेत्रमा बर्षातको समयमा पनि सडक निर्माणको काम भइरहदा त्यसले खानेपानी, खेतीयोग्य जमिन, अन्य सहायक बाटोघाँटोमा समेत प्रभाव पारेको छ । मेसिनले सडक निर्माण गर्दा जमिन कमजोर भई बर्षातको समयमा ठाउँठाउँमा पहिरो जानुका साथै कतिपय बस्तीहरुनै धरापमा परेको मालिकार्जुन गाउँपालिका वडा नम्बर ४ का विरसिह धामीले बताउनु भयो । 
तर बातावरणीय प्रभाव मूल्याङ्कन गतबर्षमा नभएपनि आगामी आर्थिक बर्षबाट बन्ने सबै सडकहरुको डिपीआर तयार पार्दा नै यो कुरालाई पहिलो प्राथमिकतामा राखेर काम गरिने महाकाली नगरपालिकाका मेयर हंसराज भट्टको भनाई छ । महाकाली नगरपालिकाले चालु आर्थिक बर्षमा पाँच वटा सडक निर्माण गरेको छ । 
त्यस्तै शैल्यशिखर नगरपालिकाले चालु आर्थिक बर्षमा १२ वटा सडक निर्माण गर्न लागेको छ । आगामी आर्थिक बर्षमा पनि शैल्यशिखर नगरपालिकाले सडकहरुलाई नै प्राथमिकता दिएको छ । उता मार्मा गाउँपालिकामा चालु आर्थिक बर्षमा २ वटा सडक निर्माण भईरहेका छन् भने मालिकार्जुन गाउँपालिकाले ३ वटा सडक चालु आर्थिक बर्षमा निर्माण गरिरहेको छ । त्यस्तै लेकम गाउँपालिका र नौगाड गाउँपालिकाले पनि चालु आर्थिक बर्षमा आधादर्जन सडकहरु निर्माण गरेपनि चालु आर्थिक बर्षमा कुनै स्थानीय तहले इआइए अर्थात बातावरणीय प्रभाव मूल्याङ्कन नगरेको पाईएको छ ।