संहिता सहितको ऐन कानुन सम्बन्धी पत्रकारहरुलाई तालिम

६ बर्ष अघि

२0७५ असार १३ बुधबार

संहिता सहितको ऐन कानुन सम्बन्धी पत्रकारहरुलाई तालिम

रामसिह धामी, असार १३ , २०७५ भाद्र १ गते देखि लागु हुने मुलुकी ऐनको बारेमा जानकारी राख्ने उद्देश्यले नेपाल पत्रकार महासंघ दार्चुलाको आयोजनामा संहिता सहितको ऐन कानुन सम्बन्धमा दुई दिने तालिमको आज उद्घाटन गरिएको छ ।
२०७४ साउन २५ गते व्यवस्थापिका संसदबाट पारित भएका विभिन्न ३ वटा ऐन कानुनहरु सहित मुलुकी अपराध संहिता सम्बन्धी कानुनलाई सरकारले यहि २०७५ भाद्र १ गतेबाट कार्यान्वयनमा ल्याउन लागेको छ । पहिलेका कानुनहरुमा केही परिवर्तन गर्दै न्याय प्रणालीलाई अझ व्यवास्थित बनाउने उद्देश्यका साथ नयाँ कानुनमा व्यवस्था गरिएको जिल्ला सरकारी वकिल निरञ्जन स्थापितले जानकारी दिनुभयो । तालिमको पहिलो दिन फौजदारी मुद्दा अर्थात सरकारी पक्षले हेर्ने मूद्दाका बारेमा सरकारी वकिल कार्यालयका प्रमुख स्थापितले जानकारी गराउनु भएको छ । 
पत्रकारहरुले विभिन्न सामाजिक अपराधहरुका बारेमा समाचार सम्प्रेषण गर्दा कानुनी कुराहरुको बारेमा समेत थाहा पाउनु पर्ने भएकाले नयाँ लागु हुने कानुन तथा अन्य कानुनहरुको बारेमा जानकारी होस भन्ने उद्देश्यले तालिमको आयोजना गरिएको नेपाल पत्रकार महासंघ दार्चुलाका अध्यक्ष शंकरसिह धामीले बताउनु भयो । दार्चुला जिल्लाका विभिन्न सञ्चार माध्यम तथा राष्ट्रिय मिडियाहरुमा काम गर्ने पत्रकारहरुको तालिममा सहभागिता रहेको थियो ।