लेकम क्षेत्रको शक्तिपीठ, धार्मिक स्थल हुनैनाथ(फोटो फिचर)

६ बर्ष अघि

२0७५ असार १३ बुधबार

लेकम क्षेत्रको शक्तिपीठ, धार्मिक स्थल हुनैनाथ(फोटो फिचर)

कृष्ण धामी, दार्चुला । मालिकार्जुन गाउँपालिका वडा नम्बर ४ मा रहेको हुनैनाथ मन्दिर लेकम क्षेत्रकै शक्तिपीठहरु मध्येमा मानिन्छ । यसक्षेत्रमा धार्मिक कार्यका लागि दार्चुला जिल्ला लगायत बैतडी, डडेल्धुरा, कैलाली, कञ्चनपुर लगायत भारतका विभिन्न क्षेत्रबाट भक्तजनहरु आउने गर्दछन् । तर हुनैनाथ मन्दिर अहिले प्रचार प्रसारको अभावमा पछाडी परेको छ । धार्मिक पर्यटनको बलियो आधारको रुपमा रहेको हुनैनाथ मन्दिरमा बर्षभरी नै विषेश पुजाआजा गरिन्छ । खासगरी सन्तान नभएकाहरुको बरदानका रुपमा हुनैनाथ मन्दिरमा पूजाआजा गर्नेहरुले सन्तान प्राप्त गरेको प्रत्यक्ष बरदान पाउनेहरुबाट सुन्न पाइन्छ । मालिकार्जुन मन्दिर नेपाल राष्ट्रकै सातौँ धामका रुपमा विकास भईरहँदा मालिकार्जुनबाट दक्षिण पश्चिममा रहेको हुनैनाथ मन्दिरमा बाह्य भन्दा पनि आन्तरिक पर्यटनहरुको घुइचो लाग्ने गर्दछ । बोका र खसीको बली दिइने यो मन्दिरमा साउन महिनाको १ गतेबाट १५ गतेसम्म पुजाआजा गर्नेको भिडभाड देख्न सकिन्छ । अरु महिना भन्दा पनि श्रावण र माघ महिनामा हुनैनाथ मन्दिरमा विषेश पुजाआराधाना हुने गरेको मन्दिरका पुजारी रामचन्द्र अवस्थीले बताए । मन्दिरमा बर्षभरी नै पुजाआजा गर्नेहरुको संख्या उल्लेख्य रहने गरेको मन्दिरका भण्डारी बहादुरसिह धामीले बताए । 


हुनैनाथ मन्दिरमा धार्मिक रुपमा लेकम क्षेत्रकै बढी पुजाआराधाना हुने गरेपनि यसको प्रचार प्रसार नहुँदा धार्मिक पर्यटनको निकै ठूलो सम्भावना ओझेलमा परेको छ । प्रचार प्रसारका साथै मन्दिर क्षेत्रमा रहेको पहिरोका कारण त्यस क्षेत्रको संरक्षण सम्बर्दन गर्न पनि सकिएको छैन् । यो भन्दा पहिले निकै पुरानो परम्परागत मन्दिरलाई २०५५ सालतीर लेकम गाउँपालिका विटोराका नारायण सिह खडायतले व्यक्तिगत लगानीमा मन्दिरको चारैतफै घेरपर्खाल लगाएका थिए ।
यो बाहेक दशबर्षे जनयुद्धका बेला तत्कालीन माओवादीले मन्दिरमा लुटपाट गरी मन्दिरमा भएको अचल सम्पत्तीहरु लगेको थियो । मन्दिरको आफ्नै लगानीमा झण्डै एक किलोमिटरसम्म गाउँदेखि मन्दिरसम्म आउने सिढीहरु बनेका थिए, जसमा अहिले वडा पालिकाले उक्त बाटो मर्मतको लागि योजना सुरु गरेको छ । यो बाहेक शान्ति मन्त्रालयबाट हुनैनाथ मन्दिरमा केही रकमहरु आएको थियो । मन्दिरको पुर्नस्थापनाका लागि आएको रकमबाट मन्दिर क्षेत्रमा आवासगृह भान्सा घर लगायतका पूर्वाधारहरु निर्माण गरिएका छन् ।