प्रहरीको अर्धबार्षिक समिक्षा: दार्चुलाको सामाजिक  स्थिति सामान्य

४ बर्ष अघि

२0७६ माघ १0 शुक्रबार

प्रहरीको अर्धबार्षिक समिक्षा: दार्चुलाको सामाजिक  स्थिति सामान्य

दृष्टिकोण समाचार, माघ १० दार्चुला । जिल्ला प्रहरी कार्यालय दार्चुलाले चालु आर्थिक बर्षको ६ महिनाको गतिविधी सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायव उपरिक्षक दिपेन्द्र शाहीले शुक्रबार पत्रकार सम्मेलन गरी दार्चुला जिल्लामा पुस मसान्त सम्ममा भएका गतिविधीहरुको अवस्थाको बारेमा जानकारी दिनुभएको छ । यो अवधिमा जिल्ला प्रहरी कार्यालय दार्चुलाले विप्लब माओवादीका ९ जना कार्यकर्ता विरुद्ध मुद्दा चलाएको छ । त्यस्तै जिल्लाका विभिन्न स्थानमा गरी ४६ रोपनीमा गाँजा नष्ट गरेको छ । २ लाख ५० हजार रुपैँया बराबरको अबैध सामान बरामद गरेको छ । 
यो ६ महिनाको अवधिमा विभिन्न दैविप्रकोपका कारण ३ जनाको मृत्यु, १५ पशुपक्षीको मृत्यु हुनुका साथै ८२ लाख ७० हजार रुपैँया बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रमुख दिपेन्द्र शाहीले जानकारी दिनुभयो । 
 जिल्लामा हाल सम्म १२ पटक सम्म यातायात अबरुद्ध भएको छ । त्यस्तै २२ जना महिला र बाँकी पुरुष गरी ४६ जना हराएका छन् । घरेलु तथा महिला हिंसाका ५९ वटा मुद्दा प्रहरीमा पुगेका छन् । त्यसबाहेक सार्वजनिक अपराध, आत्महत्या, जबरजस्ती करणी लगायत गरी ५६ वटा मुद्दा प्रहरीमा दर्ता भएका छन् । यसबाहेक जिल्लामा १८ देखि २५ बर्ष उमेर समुहका २९ जनालाई लागु औषधको कसुरमा नित्रन्त्रण गरिएको जिल्ला प्रहरी प्रमुख शाहीले जानकारी दिनुभयो । 
समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरगत चालु आर्थिक बर्षको छ महिनाको अवधिमा जिल्लाका विभिन्न ठाउँमा ३ सय ७० वटा कार्यक्रम गरी १० हजार १ सय ७५ जना कार्यक्रमबाट प्रत्यक्ष लाभान्वित भएका छन् ।