नेपालले जित्यो साग फुटबलको स्वर्ण पदक 

४ बर्ष अघि

२0७६ मंसिर २४ मंगलवार

नेपालले जित्यो साग फुटबलको स्वर्ण पदक 

काठमाण्डौ मंसिर २४ । दक्षिण एसियाली खेलकुद (साग) को पुरुष फुटबलमा भुटानलाई हराउँदै नेपालले स्वर्ण पदक जितेको छ । आज भएको फाइनल खेलमा नेपालले भुटानलाई २–१गोल अन्तरले हराउदै स्वर्ण पदक जितेको हो । यो सँगै नेपालले जारी सागमा ५१ स्वर्ण पलक जितेको छ । खेलको १७ औ मिनेटमा नेपालका लागि अभिषेक रिजालले गोल गर्दै अग्रता दिलाएका थिए । तर त्यसको केहि बेरमै भुटान कप्तान चेन्चो ग्याल्सेनले बराबरी गोल फर्काएका थिए । त्यसपछि लगातारमा भुटानले नेपालमाथि दबाब बनाउने प्रयास जारी राख्यो ।

तर दोस्रो हाफको सुरुमै सुनिल वलको गोलमा नेपालले २–१ को अग्रता बनायो । ५३औँ मिनेटमा सुनिलले गोल गरेका हुन् । भुटान पहिलो पटक साग फुटबलको फाइनलमा पुगेको हो । नेपाललाई हराउँदै फुटबलमा अर्को इतिहास रच्ने भुटानको सपना भने पूरा भएको छैन । तर भुटानले पछिल्लो समय गरेको प्रदर्शनले भने मन जित्न सफल भएको छ । केही वर्षअघि निकै कमजोर मानिने भुटानी फुटबल पछिल्लो समय निकै निखारिँदै गएको छ ।यसअघि जारी सागकै समूह चरणमा नेपालले भुटानलाई ४(० ले हराएको थियो ।