दार्चुलाका युवा बने फिल्म निर्माता 

५ बर्ष अघि

२0७६ आश्विन ३ शुक्रबार

 दार्चुलाका युवा बने फिल्म निर्माता 

दृष्टिकोण समाचार, ३ असोज दार्चुला । दार्चुला जिल्लाका एक युवा प्रकाश कुवर यतिबेला फिल्म इन्डष्ट्रीमा लागेका छन् । सिनेमा जगतमा प्रकाश कुवर दार्चुलाको पहिलो कलाकार तथा निर्माता हुन् । २०७६ फागुन ९ गते रिलिज हुने चलचित्र लप्पन छप्पन २ चलचित्रको निर्माण गर्न लागेका प्रकाश दार्चुला जिल्लामा जन्मेर पढाईको शिलशिलामा काठमाण्डौँ गएपछि चलचित्र क्षेत्रमा लागेका हुन् । सन् २०११ बाट मोडलिङमा लागेका प्रकाशले विभिन्न चलचित्रहरुमा विभिन्न रोल खेल्दै पछिल्लो समय चलचित्र निर्माण गर्न लागेका हुन् । सन् २०१४ बाट चलचित्रमा स्थान पाएपछि प्रकाशले जोनी जेन्टल म्यान चलचित्रमा अभिनय गरेका छन् । पछिल्लो समय हलिउड र बलिउड क्षेत्रका कलाकारहरुसँग नजिक भएर काम गरिरहेका प्रकाश छोटो समयमै निर्माता बनेका हुन् । उनले निर्माण गर्न लागेको चलचित्र लप्पन छप्पन २ को धेरै सुटिङको काम विदेशमा भएको छ । चलचित्रमा विभिन्न एक्सन तथा हालको राजनीतिक विषय राखिएको छ । जसमा अहिलेका चर्चित कलाकारहरु सौगात मल्ल, दयाह्याङ राई, अर्पन थापा र अनुपविक्रम शाहीको मुख्य भूमिका रहेको छ । चलचित्र लप्पन छप्पन दुईको सुटिङ ५० प्रतिशत सम्पन्न भईसकेको निर्माताले जनाएको छ । लप्पन छप्पन एक २०१६ सालमा रिलिज गरिएको चलचित्र हो । झण्डै पाँच करोड लगानीमा बन्न लागेको उक्त चलचित्रमा अहिलेका चर्चित कलाकारहरुको प्रस्तुति र चलचित्रको कथाबस्तुका आधारमा चलचित्रले बजार पाउने निर्माता प्रकाश कुवरको विस्वास छ । आगामी दिनमा दार्चुला जिल्ला तथा सुदुरपश्चिमको विषयबस्तु झल्कीने अर्को चलचित्र निर्माण गर्ने र चलचित्र क्षेत्रबाटै आफ्नो जिवनमा केही नयाँ काम गर्ने उनको भनाई छ ।