सुदूरपश्मिेलीहरुको महान चाड गौरा पर्व सुरु ।

५ बर्ष अघि

२0७६ भाद्र ३ मंगलवार

सुदूरपश्मिेलीहरुको महान चाड गौरा पर्व सुरु ।

रमेश खत्री भाद्र ०३ दार्चुला । आज भाद्र कृष्ण पञ्चमी अर्थात् बिरुडा पञ्चमी, सुदूरपश्चिमेली महिलाहरुको महान् पर्व गौरा पर्व आजदेखि आरम्भ भएको छ । सुदूरपश्चिमेली हिन्दू नारीहरुले हरेक वर्ष गौरा पर्वलाई उल्लासपूर्ण रुपमा यो पर्व मनाउने गरेका छन् ।हरेक वर्ष भाद्र कृष्ण पञ्चमी तथा भाद्र शुक्ल पञ्चमी देखि महिलाहरुको महान् पर्व गौरा पर्व औपचारिक रुपमा सुरु हुने गरेको छ । भाद्र कृष्ण पक्षमा हुने गौरालाई अनारी गौरा र भाद्र शुक्ल पक्षमा मनाइने गौरालाई उज्येली गौरा भनिन्छ ।
भगवान शिव र माता पार्वतीको स्वरुप गौरा पर्वमा गरिने ब्रतबाट  सु–स्वास्थ्य एवं सौभाग्य र समृद्धि प्राप्त हुन्छ भन्ने विश्वास रही आएको छ । आजका दिन अर्थात् बिरुडा पञ्चमीका दिन विबाहित महिलाहरु व्रत बसी बिरुडा ९पाँच प्रकारका गेडागुडीहरु० तामाको भाँडामा भिजाउने चलन छ । गौरा पर्वको पहिलो दिन बिरुडा पञ्चमीका दिन भिजाइने पाँच प्रकारका गेडागुडीहरुलाई बिरुडा भनिन्छ । बिरुडा पञ्चमीका दिन गुराँस, गहत, गहुँ, केराउ र मास गरी ५ प्रकारका गेडागुडीहरु भिजाउने चलन रही आएको छ ।

षष्ठी तिथिका दिन पञ्चमीको दिन भिजाएको बिरुडा धुने चलन छ, सप्तमी तिथिका दिन गौरा देबिको प्रतिमा बनाएर महिलाहरुले यो पर्व मनाउने चलन छ । यस्तै मुख्यगरी कृष्ण जन्माष्टमीका दिन गौरा मनाइने घर अर्थात् थलोमा महिलाहरुले गौराको गीत गाउदै धुमधामका साथ मनाउने चलन छ र अष्टमीका दिनसम्म मनाएर त्यसको भोली पल्ट साइत अनुसार फरक–फरक दिन गौरा बिसर्जन गर्ने गरिएको छ । 
गौरा पर्वमा वर्षभरिमा गरिने कार्य व्यस्तताबाट थकाई मार्ने अवसर र आफन्तजनको भेटघाटको पर्वको रुपमा पनि विशेष गरी मनाइन्छ । आज पञ्च दलहन ९बिरुडा० भिजाउदै विधिवत रुपमा सुदूरपश्चिमेली महिलाहरुको महान् पर्व आरम्भ हुने मान्यता छ । मुख्यगरी गौरा पर्व अगामी भदौ ६ गते मनाइदैछ । पौराणिक कालमा भगवान शिव महेश्वरको प्राप्तिका लागि गौरा गौरी देवी अर्थात् पार्वतीले निराहार नित्य आराधना गरी शिव प्राप्त गरेको विश्वास गरिन्छ। वर्षमा एक चोटी आउने भएकाले पनि यहाँका स्थानीयहरुले जोड तोडका साथ यो पर्व मनाउने गरेका छन्। सुदूरपश्चिममा मात्रै नभएर छिमेकी देश भारतको उत्तराखण्डको कुमाउँ प्रदेशमा पनि यो पर्व धुमधामका साथ मनाउने चलन छ ।