छतमा बर्षाती राखेर पढाई, रहर की बाध्यता ?

५ बर्ष अघि

२0७६ श्रावण २१ मंगलवार

छतमा बर्षाती राखेर पढाई, रहर की बाध्यता ?

दृष्टिकोण समाचार, २१ साउन दार्चुला । दार्चुला जिल्ला सदरमुकाम खलंगामा रहेको महेन्द्र नमुना माविको आधारभूत तहको विद्यालयमा बर्षातको पानीले पढाई प्रभावित भएको छ । विगत एक दुई बर्षबाट बर्षातको बेला विद्यालयको छत चुहिने भएपछि विद्यार्थीको पढाई प्रभावित भएको विद्यालयका प्रधानाध्यापक रामदत्त जोशीले जानकारी दिनुभयो । दार्चुला जिल्लाकै पहिलो नमुना विद्यालयको रुपमा रहेको महेन्द्र नमुना माविमा कक्षा नर्सरी देखि पाँच सम्मका विद्यार्थी बस्दै आएको विद्यालय भवनको छत चुहीने गरे पछि बर्षातको बेला पढाई प्रभावित हुदै आएको हो । 
यो भन्दा पहिले खलंगा प्रावि रहेको विद्यालय महेन्द्र नमुना माविसँग मर्ज भएपछि कक्षा नर्सरी देखि नेपाली र अंग्रेजी माध्यमबाट विद्यालयमा पढाई हुदै आएको छ । दार्चुला जिल्लाका सबै विद्यालयहरु मध्ये महेन्द्र माविमा सबै भन्दा बढी विद्यार्थी अध्ययनरत छन् । नर्सरी देखि कक्षा पाँच सम्म झण्डै चार सय जना विद्यार्थी अहिले पढी रहेका छन् तर बर्षातको समयमा दुई महिना विद्यार्थीहरुको पढाई प्रभावित भएको छ । चारवटा भवन रहेको उक्त आधारभूत तहका सबै भवनहरु जिर्ण अवस्थामा छन् ।


‘गत बर्ष विद्यालयको लगानीमा विद्यालय भवनको मर्मत गरेका थियौँ तर बर्षातमा चुहीने समस्या भएपछि पढाइ प्रभावित भएको छ’ विद्यालयका प्रधानाध्यापक रामदत्त जोशीले भन्नुभयो । ‘भवनका लागि सबै सरकारलाई भनेका छौँ सबैले सहयोग गरेमा विद्यार्थीको भविष्य सुधार गर्न सकिन्थ्यो’ उहाँले भन्नुभयो । जिल्ला सदरमुका क्षेत्रमै रहेको विद्यालयको यो हालत देख्दा जिल्लाका अन्य दुर्गम क्षेत्रका विद्यालयको अवस्था कस्तो होला ? अनि शिक्षाको गुणस्तर ? यो प्रश्नको जवाफ कसले दिने ।