आठ महिनापछि लाली पुल सञ्चालनमा आयो

५ बर्ष अघि

२0७६ श्रावण १७ शुक्रबार

आठ महिनापछि लाली पुल सञ्चालनमा आयो

रमेश खत्री, १७ साउन दार्चुला ।दार्चुलाको लेकम गाउँपालिका वडा नम्बर लाली र पीथौरागढ जिल्लाको डौडामा निर्माण गरिएको नेपाल भारत जोड्ने सीमा पुल निर्माण सम्पन्न गरिएको आठ महिना पछि शुक्रबार उद्घाटन गरिएको छ । नेपाल सरकारको सस्पेन्सन ब्रिज डिभिजन कार्यालय अन्तरगत मनमालिका कन्ट्रक्सनले कुल १ करोड ६२ लाख रुपैँयाको लागतमा २०७५ पुस महिनामा पुल निर्माण कार्य सम्पन्न गरेको थियो । भारतीय क्षेत्र डौडामा सुरक्षा पोष्ट, बाटोघाँटो र सौचालय नभएको भन्दै भारतिय पक्षले पुल सञ्चालनका लागि अनुमती दिएको थिएन । पुल निर्माण पश्चात भातीय क्षेत्रमा लेकम गाउँपालिकाले झण्डै आठ लाख रुपैँयामा भौतिक पूर्वाधार निर्माण गरिदिएको लेकम गाउँपालिका अध्यक्ष प्रमानन्द जोशीले बताउनु भयो ।
भारतीय क्षेत्रमा भौतिक संरचना पूरा भएपछि पनि पुल सञ्चालनमा नआएपछि दुई देशबीचको कुटनीतिक पहलकदमी पछि शुक्रबार पूलको औपचारिक उद्घाटन गरिएको हो । पुल उद्घाटनका लागि नेपालको तर्फबाट जिल्ला समन्वय समिति प्रमुख करबीर बहादुर कार्की, दार्चुलाका प्रमुख जिल्ला अधिकारी शंकरबहादुर बिष्ट, जिल्ला स्थित सुरक्षा निकायका प्रमुख तथा लेकम गाउँपालिका अध्यक्ष प्रमानन्द जोशीको सहभागिता रहेको थियो भने भारतको तर्फबाट उत्तराखण्ड विधानसभा विधायक बिसनसिह चुफाल, पीथौरागढ जिल्लाका डिए डा. विजय कुमार जोगदण्डे तथा भारतीय सुरक्षा निकायका प्रमुखहरुको सहभागिता रहेको थियो ।
पुल सञ्चालनमा आएसँगै लेकम गाउँपालिका तथा मालिकार्जुन गाउँपालिकाका केही भागका स्थानीयहरुको जोखिमयुक्त ट्युबको यात्रा समाप्त भएको छ । पुल निर्माण सम्पन्न भएपनि सञ्चालनमा ढिलाई भएको भन्दै चौतर्फी जनगुनासो आएपछि दार्चुला जिल्लामा नेपाली काँग्रेस र नेकपाकाबीच पछिल्लो समय पुल सञ्चालनको लागि राजनीतिक विषय समेत बनेको थियो । जे होस पुल सञ्चालनमा आएपछि सीमा क्षेत्रको जोखिमपूर्ण यात्रा घट्नुका साथै सो क्षेत्रको व्यापार तथा दुई देशबीचको यात्रा सहज हुने विस्वास गरिएको छ ।  यो सँगै दार्चुला जिल्लामा नेपाल भारत सीमा जोड्ने पाँच पुल निर्माण भएका छन् भने एक मोटरेबल तथा अन्य दुई वटा झोलुङ्गे गरी तीनवटा पुल अझै निर्माण हुने तयारीमा रहेका छन् ।