ब्बेको दशकमा जन्मेको पोखरेली ब्यान्ड नेपथ्य नेपालकै चर्चित ब्यान्डमात्रै बनेन, विश्वका कुनाकुना पुगेर साँगीतिक कार्यक्रम गर्ने एकमात्र ब्यान्ड बन्यो । नेपालमा बग्रेल्ती साँगीतिक ब्यान्डहरु भएका बेला जन्मेको यो ब्यान्डले आफ्नो फरक धार निर्माण निर्माण गर्याे ।
छेक्योछेक्यो छेउराली डाँडाँ…, जीवन हो घाम छाँया…, रेशम…, तालको पानी माछीले खाने… लगायत एकपछि अर्का दर्शनौँ गीत दिएको नेपथ्यले युवापुस्तामा एकछत्र राज गर्याे र गरिरहेकै छ । सन् १९९३ को अप्रिल १ मा पहिलो एल्बम ‘नेपथ्य’ निकालेको यो ब्यान्डले गएको वर्षमात्र सिल्भर जुब्ली मनायो ।
नेपथ्यका मुख्य गायक अमृत गुरुङ साँगीतपारखीका मनमुटुमा नमेटिने गरी खोपिएर बसेका छन् । अमृत गुरुङ नाम सुन्ने बित्तिकै धेरैको शीर श्रद्धाले झक्छ । उनै गायक अमृत भने आफू झुक्किएर गायक बनेको बताउँछन् । उनी खास चित्रकार बन्न चाहन्थे । बाल्यकाल र पोखराबारे एक साझँ अमृत गुरुङ अनलाइनखबरकर्मी अमृत सुवेदीसँग गफिए । बाल्यकालको पोखरा र सँगीतबारे गुरुङले केही नयाँ कुरा सुनाए । उनीसँग गरिएको कुराकानी उनकै शब्दमाः
गाउँमै लोकगीत सुनेर हुर्किएँ । बाजेहरुले, आमाहरुले छ्यामाहरुले गाएका लोकगीत सुनेँ । बजार झरेपछि रेडियो नेपाल सुनेँ । हिन्दी गीत सुनेँ, बिटलका अंग्रेजी गीतहरु सुन्दै हुर्किएँ ।
मलाई मन परेको बाटुलेचौरका सारंगी रेटेर गन्धर्व (त्यसबेला गाइने भनिन्थ्यो) हरुले गाएको गीत खुब मन पथ्र्यो । झलकमान गन्धर्वलाई बुटेलेचौरतिरै पनि सुनेको हो, चिनेकै हो, देखेको हो । पछि रेडियो नेपालतिर सुनियो । गन्धर्व समुदाय देउसी–भैलो खेल्थे, रमाइलो गर्थे । मलाई पनि उनीहरुसँगै गाउन खुब रमाइलो लाग्थ्यो ।
पोखरा झरेपछि चिनेको, सुनेको गायक अरुण थापा हुन् । सरोजगोपाल दाइ हो । बाबा राणा, विक्रम गुरुङ, विनोद गौचनलगायतका दाइहरुलाई पोखरा झेरेपछि सुरुमा मैले चिनेको हुँ । पछि गएर विक्रम दाइ र अरुण दाइ चाहि साथीजस्तै बन्नु भो ।
मनपर्ने गायकगायिका त धेरै हुनुहुन्छ तर मलाई अमर गुरुङका केही गीतहरु यस्ता लाग्छन्, जहिले जहाँ सुन्दा पनि एक खालको अध्यत्मिक आनन्द दिन्छ । अमर गुरुङका त्यस्ता गीत म दोहोर्याइतेहेराई सुनिरहन्छु । अमर दाइको एउटा एल्बम छ, कहिले लहर कहिले तरंग । त्यो ०४०/४१ सालतिर निस्केको हो । बडो गज्जब छ । त्यो एल्बममा जीवनको एक खालको दर्शन छ ।
म सानोमा गीत गाउँथिनँ, पेन्टिङ गर्थेँ । चित्रकलामा रुचि थियो । स्कुलका नाटकमा भाग लिन्थेँ । गीत गाउने कुरामा साथी–भाइसँग सम्मिलित त हुन्थेँ तर आफैँ गाउन सक्दिनथेँ । रमाइलोका लागि खाली ठाउँ भर जस्तो थिएँ म । कसैबाट भएन भनेमात्रै उभिन्थेँ । लहैलहैमा जिस्किएर गीत गाउथेँ ।
मेरो जिन्दगीमा पहिलोपटक साथी वीर पुनले स्टेजमा लगे । उनी राम्रो ड्रमर थिए । गीत गाउनुपर्छ भनेर डाँफे कला मन्दिरमा पहिलोपटक गीत गाएको थिएँ । भनिन्छ नि जो माया प्रेममा पर्दैन, ऊ कवि हुन सक्दैन ।
मायाप्रेममा परेपछि जसले पनि जस्तो भए पनि दुई/चार वटा कविता लेखिहाल्छ झैं गीत बुझ्न पनि यसको लत लाग्नुपर्छ । डाँफे कला केन्द्रमा मैले ‘दिनहरु, रातहरु जतिजति सत्य छन्, त्यति तिमीलाई मेरो प्यार थियो,’ भन्ने गीत गाउँदा हात थरर कापेको थियो ।