लेकममा ७० लाखको सडक निर्माण कार्य सुरु ।।

५ बर्ष अघि

२0७६ जेष्ठ ३२ शनिबार

लेकममा ७० लाखको सडक निर्माण कार्य सुरु ।।

रमेश खत्री जेष्ठ ३२ दार्चुला । लेकम गाउँपालिकामा ७० लाख बजेटमा सडक निर्माण कार्य सुरु गरिएको छ । लेकम गाउँपालिकाको वाड नम्बर ५ मा  चालु आर्थिक वर्षको ७० लाख बजेटमा दोबाटा–प्रितोली–अम्कुर–गोगना–फुसरखाली सडक निर्माण कार्य आजदेखि सुरु भएको हो ।
चालु आर्थिक वर्ष सकिन १ महिना मात्रै बाँकी रहेका बेला लेकम गाउँपालिकाको बजेटमा उक्त सडक निर्माण गर्न लागिएको हो । चालु आर्थिक वर्ष सकिन लागेको एक महिना मात्रै बाँकी रहेका बेला सडक निर्माण कार्य सुरु गरिएकाले एक महिनामा ७० लाख बजेट खर्च गर्नुपर्ने बाध्यता उपभोक्ता समितिको छ । असारे झरीमा गरिएका विकास निर्माणका कार्यहरु गुणस्तरीय नहुने तथा दिगोपना पनि नहुने भन्ने प्राविधिकहरुले बताउने गरेका बेला लेकम गाउँपालिकाले भने ७० लाख बजेटको सडक आज मात्रै सुरु गरेको छ । उक्त सडकको निर्माण कार्यको जिम्मेवारी पाएको उपभोक्ता समिति अध्यक्ष बासु बोहराका अनुसार आजदेखि निर्माण कार्य सुरु गरिएको हो ।
लेकम गाउँपालिकाद्धारा निर्माण गर्न लागिएको उक्त सडक निर्माणका लागि गरिएको डिपीआर नै दोस्रो पटक गर्नुपरेकाले सडक निर्माण कार्यमा ढिलाई भएको हो । डिपीआर गर्दा स्थानीयहरुले विरोध गरेपनि पुनः अर्काे स्थान हुदै सडक डिपीआर गर्नु परेकाले सडक निर्माणमा ढिलाई भएको उपभोक्ता समिति सचिव भुवन विष्टले बताउनु भयो ।
शैल्यशिखर नगरपालिका वडा नम्बर ७ का केही स्थानीयहरुले ५ किलोमिटर डिपीआर भइसकेपछि विरोध गरेपछि पुनः डिपीआर गर्नु परेको समिति कोषाध्यक्ष जानकी खत्रीले बताउनु भयो । उहाँका अनुसार शैल्यशिखर नगरपालिका ७ का केही स्थानीय पुरानो गरिएको डिपीआर अनुसार सडक निर्माण गर्न नर्दिएपछि पुनः दोस्रो पटक डिपीआर गर्नु परेको हो । यसरी दोस्र्रो पटक डिपीआर गर्नु परेकाले सडक निर्माणमा ढिलाई भएको उहाँको भनाई छ । चालु आर्थिक वर्षभित्रै सडक निर्माण कार्य सम्पन्न गर्ने गरी काम सुरु भएको लेकम गाउँपालिकाका अध्यक्ष प्रमान्द जोशीले बताउनु भयो ।