दुई देशका सुरक्षा अधिकारी बीच चारवटा साझा विषयमा छलफल

५ बर्ष अघि

२0७६ जेष्ठ १0 शुक्रबार

दुई देशका सुरक्षा अधिकारी बीच चारवटा साझा विषयमा  छलफल

दृष्टिकोण समाचार, जेठ १० दार्चुला । नेपाल भारत दुई देशका सुरक्षा अधिकारी बीच चारवटा साँझा विषयहरुमा शुक्रबार छलफल गरिएको छ । शुक्रबार धारचुला स्थित गोठीमा भएको दुई देशका सुरक्षा अधिकारीहरुबीचको बैठकमा मुख्य चार वटा विषयमा छलफल गरिएको दार्चुलाका निमित्त प्रहरी प्रमुख हिक्मत बहादुर बोहराले जानकारी दिनुभयो । बैठकमा सूचना आदान प्रदान, सीमा सुरक्षा, मालपा, घाँटीबगर घोरेटोबाटो निर्माण र लाली डौडामा निर्माण सम्पन्न भएको पुल सञ्चालनका बारेमा छलफल गरिएको हो ।
दुईदेशका सीमामा तैनाथ सुरक्षाकर्मीहरुबीच एक आपसमा समन्वय गर्ने र सूचना आदानप्रदान गर्ने, सीमामा हुने अपराध न्युनिकरणका लागि चेकजाँचमा कडाई गर्ने र अबैध सामान आयात निर्यातमा कडाई गर्ने, भारतीय पक्षले निर्माण गरिरहेको धारचुला लिपुलेक राजमार्गका कारण नेपालको मालपा, घाँटीबगर क्षेत्रमा बाटो भत्केको तथा क्षती भएको ठाउँमा निर्माण कम्पनीका ठेकेदारले बाटो निर्माण गराउने तथा लेकम गाउँपालिकाको लालीमा निर्माण सम्पन्न भईसकेको पुललाई तत्काल सञ्चालनमा ल्याउने विषयमा छलफल भएको शसस्त्र प्रहरी ५० नम्बर गुल्म दार्चुलाका डिएसपी भिम बहादुर चन्दले जानकारी दिनुभयो । 
बैठकमा नेपालको तर्फबाट सहायक प्रमुख जिल्ला अधिकारी टेकसिह कुवर, शसस्त्र प्रहरी प्रमुख भिम बहादुर चन्द, नेपाल प्रहरी दार्चुलाका निमित्त प्रमुख हिक्मत बोहरा तथा राष्ट्रिय अनुसान्धान अधिकृत नित्यानन्द ढुङ्गानाको सहभागिता रहेको थियो । त्यस्तै भारतीय पक्षबाट शसस्त्र सीमा बल ११ बाहिनी डिडिहाटका डिसी असोक कुमार, धारचुला कोतवाली डिवाईएसपी विके आचार्य, एसएसबी धारचुलाका एसआई भिजेन्द्र शाहको सहभागिता रहेको थियो ।