जग्गा छैन, मालपोत तिर्दै, नदी किनारका स्थानीयको जीवन कष्टरकर बन्दै

६ बर्ष अघि

२0७५ असार ५ मंगलवार

जग्गा छैन, मालपोत तिर्दै, नदी किनारका स्थानीयको जीवन कष्टरकर बन्दै

असार ५ दार्चुला । २०७० सालमा आएको बाढीले महाकाली नदी किनारका स्थानीयको जग्गा जमिन बगाएर लगेपछि उक्त क्षेत्र अहिले बगरमा परिणत भएको छ । महाकाली नदीले कटान गरेको जग्गा जमिन कुनै ठाउँमा भारततर्फ बगरमा परिणत भएको छ भने कतै जग्गाको नाम निसान नै रहेको छैन । महाकालीको बाढीले जिल्लाका विभिन्न ठाउँमा सयौँ रोपनी जग्गा बगाउनुका साथै झण्डै दुईसयको हाराहारीमा परिवारहरु पनि विस्थापित भएका थिए । बाढी पहिरो पीडितहरु महाकाली नगरपालिका, मालिकार्जुन गाउँपालिका र लेकम गाउँपालिकाका महाकाली किनारका स्थानीयहरुको समस्या बेग्लै किसिमको रहेको छ । 
लेकम गाउँपालिका ३ लाली, राडम, मालिकार्जुन गाउँपालिकाको बाँकु, कुज्र्यानी, सलेती, उकु, सेल्पे, जडानी, जौलजिबी, डिन्सी, तथा महाकाली नगरपालिकाको बेत, चूच्चै, उडै, सकार, काँकडा, सुरकाँडा, धाप, खेट्टेबगर, किम्तडी नमस्कार क्षेत्र तथा दार्चुला सदरमुकाम क्षेत्र गल्फै, बंगाबगड, श्रीबगड, लगायतका बस्तीहरुको महाकाली किनारको भू—भाग नदिले कटान गरेको छ । 


नदिले कटान गरेर लगेको जग्गाको लगत कट्टा नगरिएपछि पीडित स्थानीयहरुले अझै उक्त जग्गाको मालपोत तिर्ने गरेको बताएका छन् । महाकाली नगरपालिका वडा नम्बर ८ काँकडाको स्थानीय ७÷८ जनाको जग्गा नदिले कटान गरी बगाएको तर हालसम्म पनि जग्गाको मालपोत कर तिर्न बाध्य भएको महाकाली ८ काँकडाका स्थानीय रामसिह बिष्टले बताउनुभयो ।त्यस्तै नदिले बचाएको जमिनमा कुनै उद्यम गर्न, तथा रोजगारीका काम गर्न आर्थिक स्थिति नभएपछि र त्यो जग्गाको धितो राखेर बैंकबाट रिण निकाल्न पनि नसकिए पछि आफूहरुलाई निकै सास्ती भएको भवान बहादुर शाहिलेले बताउनु भयो । नदिकिनारका स्थानीयलाई बर्सातको समयमा विभिन्न किसिमका विपत्तीको सामना गर्नु पर्दा उनीहरुकोे दैनिकि निकै कष्टरकर वितिरहेको महाकाली नदी तटीय क्षेत्रका स्थानीयले बताएका छन् ।