सडक स्तरोन्नतीमा पहल गरिनेः प्रदेश साँसद बोहरा

५ बर्ष अघि

२0७६ बैशाख ३0 सोमबार

सडक स्तरोन्नतीमा पहल गरिनेः प्रदेश साँसद बोहरा

सुलोचना महता, ३० बैशाख । दार्चुला जिल्लाका विभिन्न सडकहरुको स्तरोन्नतीमा प्रदेश सरकारले विषेश पहल गर्ने प्रदेश साँसद गेल्बु सिह बोहराले बताउनु भएको छ । जिल्ला समन्वय समितिको तेश्रो जिल्ला सभालाई सम्बोधन गर्दै साँसद बोहराले दार्चुला जिल्लाका विभिन्न पालिकाहरुलाई जोड्ने सडकखण्डको स्तरोन्नती गरिने बताएका हुन् ।

साँसद बोहराले पहिलो प्राथमिकतामा खलंगा—दल्लेख, खार— धुलिगडा,सिप्टी—तोपवन, बिटुले—पारिबगड—खण्डेश्वरी सडक खण्डलाई आगामी आर्थिक बर्षको बजेटबाट सम्बोधन गर्न आफ्नो विषेश पहल रहने बताए । यस्तै दार्चुला जिल्ला जलविद्युत्को हब बन्न सक्ने सम्भावना रहेकोले जिल्लाको जलविद्युतलाई पनि प्राथमिकतामा राख्ने बताएका छन् ।

साथै दार्चुला जिल्ला जडिबुटी, जल जंगल र पर्यटकीय सम्भावना बोकेको जिल्ला भएकाले यसबाट आर्थिक लाभ लिनका लागि सबैले हातेमालो गर्नुपर्ने बताएका छन् । चालु आर्थिक बर्षमा प्रदेश सरकारबाट विनियोजन गरिएको बजेट कर्मचारी समायोजनका कारण खर्च गर्न ढिलाई भएकोले बजेट समयमै उपलब्ध गराउन नसकिएको भन्दै अहिले एक किसिमको प्रदेश संयन्त्र बनिसकेको हुनाले आगामी आर्थिक बर्षबाट यो समस्या नहुने बताउनु भयो ।