चालु आवमा तीन स्थानीय तहमा घुम्ती शिविर सञ्चालन

५ बर्ष अघि

२0७६ बैशाख १५ आईतवार

चालु आवमा तीन स्थानीय तहमा घुम्ती शिविर सञ्चालन

दृष्टिकोण समाचार, १५ बैशाख दार्चुला । जिल्ला प्रशासन कार्यालय दार्चुलाको संयोजन र स्थानीय तहहरुको आयोजनामा चालु आर्थिक बर्षमा दार्चुला जिल्लाका तीन वटा स्थानीय तहहरुमा एकीकृत घुम्ती शिविर सञ्चालन गरिएका छन् । आइतबार दार्चुलाको अपिहिमाल गाउँपालिका केन्द्र खण्डेश्वरीमा एकीकृत घुम्ती शिविर उद्घाटन गरिएको छ । शिविरमा जिल्ला प्रशासन कार्यालयले नागरिकता वितरण गर्दैछ । साथै शिविरबाट फोटोसहितको मतदाता नामावली दर्ता, घरेलु तथा साना उद्योग दर्ता, अपिनाम्पा संरक्षण क्षेत्रबाट यार्शा संकलन पुर्र्जी वितरण, निशुल्क स्वास्थ्य शिविर, स्याउ जोन कार्यक्रम अन्तरगतका सेवा, तथा जिल्ला स्थित विभिन्न अन्य सरकारी कार्यालयबाट दिईने सेवा र गाउँपालिका अन्तरगत रहेका विभिन्न शाखाबाट प्रवाह गरिने सेवा शिविरबाट दिइने प्रमुख जिल्ला अधिकारी शंकरबहादुर विष्टले जानकारी दिनुभयो ।


चालु आर्थिक बर्षमा जिल्ला प्रशासन कार्यालय दार्चुलाले नौगाड, मार्मा र अपिहिमाल गाउँपालिकामा एकीकृत घुम्ती शिविर सञ्चालन गरिसकेको छ । २०७५ मंसिर २३ र २४ गते नौगाड, २०७५ चैत्र २३ देखि २६ गतेसम्म मार्मा र २०७६ बैशाख १५ र १६ गते अपिहिमाल गाउँपालिकामा शिविर सञ्चालन गरिएको दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी टेकसिह कुवरले जानकारी दिनुभयो । 
जिल्ला प्रशासन कार्यालयको लक्ष्य अनुसार चालु आव मै व्याँस गाउँपालिकामा शिविर सञ्चालन गर्ने तयारी रहेको छ । स्थानीयहरुलाई गाउँघरमै गएर सुलभ रुपमा सेवा दिने उद्देश्यले शिविर सञ्चालन गरिएको हो ।