प्राविधिक शिक्षामा जोडियो दार्चुला सबै स्थानीय तह 

५ बर्ष अघि

२0७६ बैशाख ५ बिहीबार

 प्राविधिक शिक्षामा जोडियो दार्चुला सबै स्थानीय तह 


सुलोचना महता, बैशाख ५ दार्चुला । दार्चुलाको नौ वटै स्थानीय तहमा प्राविधिक शिक्षाको पहुँच पुगेको छ । भौगोलिक विकटता तथा दार्चुला सदरमुकाम देखि टाढा रहेको अपिहिमाल गाउँपालिकामा प्राविधिक तथा व्यवसायिक धार सञ्चालनका लागि छनौट भएसँगै दार्चुलाको नौ वटै स्थानीय तहमा प्राविधिक शिक्षाको पहुचँ पुगेको हो । 
यसभन्दा पहिले दार्चुलाको महाकाली र शैल्यशिखर नगरपालिका, मालिकार्जुन, लेकम, नौगाड, दुहुँ, व्यासँ, मार्मा गाउँपालिका गरी आठ वटा स्थानीय तहको माविमा कृषि जेटिए, बाली विज्ञान, सिभिल इन्जिनियरिङ, ओभरसियर लगायतका विषयहरु पढाई भइरहेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलिले दुई वर्ष भित्र देशभरी रहेका सबै स्थानीय तहमा प्राविधिक शिक्षालयहरु सञ्चालन गर्ने निर्णय अनुसार दार्चुलाका नौ वटै स्थानीय तहहरुमा प्राविधिक शिक्षाको पहुँच पुगेको छ ।
यसवर्षदेखि अपिहिमाल गाउँपालिकाको क्षेतीमा रहेको खण्डेश्वरी माविमा प्राविधिक धार बाली विज्ञान तथा व्यवसायिक शिक्षाको पढाई सञ्चालन हुने भएको छ । जिल्लाका दुर्गम ठाउँका विद्यार्थीहरु प्राविधिक शिक्षाका लागि सदरमुकाम तथा बाहिरी जिल्लामा जानुपर्ने बाध्यता स्थानीय तहमा प्राविधिक शिक्षाको पहुँच पुगेसँगै हटेको छ । प्राविधिक शिक्षा स्थानीय ठाउँमा नै लागु भएपछि विद्यार्थीहरु निकै उत्साहित तथा खुसी भएका छन् ।