यार्सागुम्बा संकलनकर्ताहरुलाई परिचय पत्र वितरण शुरु

५ बर्ष अघि

२0७६ बैशाख ५ बिहीबार

यार्सागुम्बा संकलनकर्ताहरुलाई परिचय पत्र वितरण शुरु


सुलोचना महता, बैशाख ५ दार्चुला । दार्चुला जिल्लाको हिमाली भेगमा बहुमुल्य जडिबुटी यार्सागुम्बा संकलन गर्नका लागि जाने संकलनकर्ताहरुलाई अपी नाम्पा संरक्षण क्षेत्र कार्यालय दार्चुलाले बैशाख पहिलो साता देखि परिचय पत्र वितरण गरीरहेको छ । दार्चुलाको व्यासँ, अपिहिमाल गाउँपालिका लगायत यार्सागुम्बा पाइने उच्च लेकाली क्षेत्रमा यार्सागुम्बा संकलनकर्ताहरुलाई परिचयपत्र वितरण गर्न लागेको हो । 
जिल्लाभरी विभिन्न ठाउँमा रहेका ९ वटा रेन्जपोष्ट, सेक्टर लगायतका पोष्टहरुमा बैशाख दोस्रो हप्ता यार्सागुम्बा संकलन परिचय पत्र वितरण गर्ने छ । र्यासागुम्बा संकलनकर्ताहरु संरक्षण क्षेत्र भित्रका स्थानीय भए परिचय पत्रका लागि ५ सय रुपैँया, जिल्ला भित्रका स्थानीयका लागि २ हजार रुपैँया र अन्य जिल्लाका स्थानीयका लागि ३ हजार दस्तुर लगाउनुका साथै अपी नाम्पा संरक्षण क्षेत्र व्यवस्थापन परिषद् तथा उपभोक्ता समितिको सिफारिसका लागि १ सय दस्तुर अपी नाम्पा संरक्षण क्षेत्र कार्यालय दार्चुलाले लगाएको छ ।
हिमाली भेगका स्थानीयहरुकाे मुख्य आयआर्जनको श्रोतको रुपमा रहेको बहुमल्य जडीबुटी यार्सागुम्बा संकलन गर्ने कार्यलाई व्यवस्थित गर्ने उद्देश्यले परिचय पत्र वितरण गर्न लागेको अपी नाम्पा संरक्षण कार्यालय दार्चुलाका प्रमुख किरोश मेहेताले बताउनु भयो । यार्सागुम्बा संकलन परिचय पत्र लिन छुटेका संकलनकर्ताहरुलाई यही बैशाख २५ गते क्याम्प खडा गरी उपलब्ध गराउने उनले बताए । यार्सागुम्बा संकलन कार्य शुरु जेठको दोस्रो हप्ता देखि शुरु भएर असार मसान्तसम्म हुने छ । यार्सागुम्बा संकलनकर्ताहरुले परिचय पत्र लिनुपर्ने, हातहतियार लिन नपाइने तथा विना इजाजत जडिबुटी संकलन गर्न नपाइने तथा विना अनुमति यार्सागुम्बा संकलन गरेको पाइएमा यार्सागुम्बा जफत तथा आवश्यक कारबाही गरीने अपी नाम्पा संरक्षण कार्यालय दार्चुलाले जनाएको छ ।