स्याउ जोन दार्चुलाः सय हेक्टर क्षेत्रफलमा १५ हजार स्याउका बोट रोपीए

५ बर्ष अघि

२0७५ चैत्र १९ मंगलवार

स्याउ जोन दार्चुलाः सय हेक्टर क्षेत्रफलमा १५ हजार स्याउका बोट रोपीए


दृष्टिकोण समाचार, चैत्र १९ दार्चुला । प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रम अन्तरगत दार्चुलालाई स्याउ जोन क्षेत्रको रुपमा विकसित गर्न लागिएको छ । चालु आर्थिक बर्षको असोज महिनाबाट दार्चुलामा स्याउ जोन कार्यालय स्थापना भई दार्चुला जिल्लाका पाँच वटा गाउँपालिका व्याँस, दुहुँ, नौगाड, मार्मा र अपिहिमालको एक सय ६ हेक्टर क्षेत्रफलमा हाल स्याउ खेती गरिएको छ । 
स्याउ जोन कार्यक्रम दार्चुलाका अनुसार दार्चुला जिल्लाका पाँचवटा गाउँपालिकाका विभिन्न क्षेत्रमा हाल जुम्ला जिल्लाबाट गोल्डेन र वेल जातको १४ हजार स्याउका बोट ल्याएर कृषकहरुलाई वितरण गरिएको स्याउ जोन कार्यक्रम दार्चुलाका प्रमुख विष्णु ओझाले जानकारी दिनुभयो । यसैगरी गाला र खुजी जातको ६ सय बोट उन्नत जातको स्याउका बोट हालसालै मात्र दार्चुला ल्याइदै छ । 
यसबाहेक स्याउ जोन कार्यक्रम अन्तरगत दार्चुला जिल्लाको पाँच सय हेक्टरमा स्याउ खेती विस्तार गरिने कार्यालयले जनाएको छ । कार्यक्रमले स्याउ खेती गर्ने कृषकहरुलाई ५० र ७५ प्रतिशत अनुदानमा स्याउका बोट वितरण गरेको छ ।
चालु आवमा ६६ प्रतिशत प्रगती
स्याउ जोन कार्यक्रम लागु भएपछि दार्चुला जिल्लामा चालु आर्थिक बर्षमा कार्यक्रमले दोश्रो चौमासिकमा चालु र पूजिगत बजेट तर्फ ६६ दशमलब ८० प्रतिशत प्रगति गरेको छ । त्यसैगरी ३ हजार ५ सय रुपैँया राजश्व संकलन गरेको छ । 
मूख्य उपलब्धीहरु
स्याउ जोन कार्यक्रम अन्तरगत कृषकहरुलाई भकारो सुधार कार्यक्रममा ५० वटा कार्यक्रम रहेकोमा सबैमा सम्झौता भई कार्यान्वयनमा आएका छन् । त्यस्तै १४ हजार ६ सय स्याउका बोटहरु विभिन्न कृषकहरुलाई अनुदानमा वितरण गरिएका छन् । त्यसैगरी साना सिचाई कार्यक्रम पनि लागु भएको जनाएको छ ।
चुनौतीहरु
दार्चुला जिल्लालाई स्याउ जोनका रुपमा विकास गर्ने कार्यक्रम भएपनि कार्यक्रमका विभिन्न चुनौतीहरु रहेको कार्यलयले जनाएको छ । मूख्य रुपमा जनशक्ति अभाव रहेको छ । कार्यक्रमका लागि दश जनाको दरबन्दी भएपनि हाल २ जना मात्रै दरबन्दीमा रहेका छन् । त्यसैगरी भौगालिक विकटता हुँदा कृषकहरुसम्म कार्यक्रमको लक्ष्य र उद्देश्य अनुरुप काम गर्न नसकिएको, जलवायु परिवर्तनको असर, उन्नत जातको स्याउको बोटविरुवा सहज रुपमा उपलब्ध नहुनु, कृषकहरुलाई स्याउ खेती सम्बन्धी ज्ञानसीपको अभाव लगायतको चुनौतीहरु रहेको स्याउ जोन कार्यालय दार्चुलाले जनाएको छ ।