ललित सामन्त,चैत १३ दार्चुला । उखु व्यसाय पछिल्लो ससमय खस्किदै गएको छ । भने उत्पादनमा कम र माग बढ्दै गएको छ । सुदुरपश्चिमका पहाडी जिल्ला र हिमाली जिल्लाहरुमा यो खेती गरिन्छ । पहाडमा उखु खेती पुरानो हो । नगदे बाली अन्तर्गत पर्ने उखु खेती तराईँमा जुन व्यावसायिकताका साथ गरिन्छ, पहाडमा त्यसरी गरिँदैन । अपितु, पहाडमा अहिले पनि प्राचीन विधिको उखु खेती गरिन्छ ।
सुदुर पश्चिम पहाडका जिल्लाहरूमा उखु पेलेर गुड बनाउने तरिका पनि प्राचीन मौलिकताको छ । यहाँ विद्युत्तीय मसिनहरूको प्रयोग गरिन्न । उखु पेल्न कसैले गोरूको प्रयोग गर्दछन् भने कसैले हातैले उखु पेल्छन् । यसरी निकालिएको उखुको रसलाई आगोमा तीनदेखि पाँच घण्टासम्म पकाईन्छ । यसरी यदि ३० लिटर उखुको रस पकाउने हो भने त्यसबाट ९ किलो गुड ९सखर० तयार हुन्छ। दाउरा र उखुको बोक्राको आगोमा पकाएर तयार पारिएको गुड विद्युत्तीय भट्टिमा पकाएर तयार पारिएको गुड भन्दा स्वादिष्ट हुन्छ । पहाडको गाउँसमाजमा चिनीको प्रयोग बढेको तथा यूवाहरूमा विदेश मोह पलाएको कारण विगतको तुलनामा अहिले उखु खेतीप्रतिको लगाव घटिरहेको छ ।
वर्षका अन्तिम दुई महिना खासगरी फाल्गुन र चैत महिनामा दार्चुला र बैतडीमा यतिबेला गुड र उखु फेस्टिबल जस्तै देखिन्छ। घरमा लामो कपाल भएकी बुहारी, गोठमा लामो सिङ भएको पशु र खेतमा लामो पात भएको खेती हुनुपर्छ भन्ने मान्यता छ। यस्तो हुँदा जीवन सहज हुने जनविश्वास छ ।
लामो कपालको मतलब धेरै बुद्धि भएको बुहारी, लामो सिङ भएको पशु भनेको भैंसीले दुधै नदिए पनि मल दिन्छ र लामो पात भएको खेती भनेको उखु खेती एक सालमा तयार भए पनि घाँस दिई राख्ने, हेर विचार गर्न बारीमा गइराख्नु नपर्ने हुँदा समय बचत हुने यसको वैज्ञानिक कारण पनि मान्न सकिन्छ।
प्राचीन विधिबाट तयार पारिएको गुड स्वास्थ्यको लागि निकै लाभदायक हुन्छ । पछिल्लो समय उत्पादन कम र माग बढी भएको छ । व्यावसायिक हिसाबले पहाडी जिल्लामा उखु खेती गरिन सकिएको छैन ।