रङ्गको पर्व होली,सुदुरपश्चिमका गाउँबस्तीदेखि सहर बजार सम्म 

५ बर्ष अघि

२0७५ चैत्र ६ बुधबार

रङ्गको पर्व होली,सुदुरपश्चिमका गाउँबस्तीदेखि सहर बजार सम्म 

ललित सामन्त,चैत ६ दार्चुला । दार्चुला लगायत सुदुरपश्चिमका गाउँबस्ती देखिलिएर सहर बजार सम्म रङ्गको पर्व होलीको पर्व होली पर्वले  रौनक छाएको छ । वसन्त ऋतुको आगमनको सुरुवातमा पर्ने फागु पर्व एक आपसमा मैत्री भाव प्रकट गर्न सामूहिक रुपमा भेला भएर एक अर्कामा रंग दलेर मनाउने गरिन्छ ।

सत्य युगमा विष्णुभक्त प्रह्लादलाई मार्नका लागि हिरण्यकश्यपले विभिन्न जाल बुन्दा पनि नसकेपछि आगोबाट नजल्ने र नमर्ने वरदान पाएकी बहिनी होलिकाले प्रह्लादलाई काखमा लिएर आगोमा बस्न लगाउँदा प्रह्लादलाई केही नभएको तर होलीका जलेर नष्ट भएको प्रसंग यस पर्वसँग जोडिएको छ । असत्यमाथि सत्यको विजय भएको यस घटनापछि होली मनाउन थालिएको विश्वास गरिन्छ । 
होली पर्वका अवसरमा विभिन्न संघसंगठनहरुले विभिन्न कार्यक्रमहरु आयोजना गरिरहेका छन् । नेपालका पहाडी क्षेत्रमा फागु पूर्णिमाका दिन होली मनाउने गरिन्छ भने तराईमा पूर्णिमाको भोलिपल्ट होली पर्व मनाउने गरिन्छ । विभिन्न समुदायको बसोबास रहेको तराईमा दुई÷तीन दिनसम्म होली मनाउने चलन छ ।

यस्तै, सुदूरपश्चिमका पहाडी भेगमा पनि दुई दिनसम्म होली मनाउने प्रचलन छ । सुदूरपश्चिमका दार्चुला बैतडीका स्थानीयहरुले पूर्णिमाको रातभर र भोलिपल्ट दिनभर श्री राम, सीता, हनुमान र रावण तथा होलीकाबारे बनाईका देउडा गाएर ताल मिलाउँदै होली खेल्ने गरिन्छ ।
यसैबिच गाउँघरमा बढ्दो आधुनिकताले होली पर्वको परम्परागत महत्व र रौनक हराउँदै गएको छ । गाउँघरमा साथीभाइ, आफन्त जम्मा भई घरघरमा मौलिक गीत गाउँदै नाच्दै होली खेल्ने चलन पछिल्लो समय हट्दै गएको हो । मौलिक परम्परा र संस्कृतिभन्दा माथि उठेर भड्किलो पाराले होली मनाउने संस्कार गाउँमा भित्रिएको हो 
गाउँमा मौलिक गीत गाएर नाचेर होली अर्थात् फागु खेल्नुको सट्टा वनभोज जाने र रमाउनेको जमात बढ्दै गएको छ । युवापुस्ताले संस्कार, संस्कृतिको महत्वभन्दा पनि रमाइलोका लागि मात्र होली पर्व मान्ने चलन बढ्दो छ ।


यता जिल्ला प्रशासन कार्यालय दार्चुला र जिल्ला प्रहरी कार्यालय दार्चुलाले  भने सभ्य र मर्यादित भएर होली खेल्न सबैमा आग्रह गरेको छ । उत्तेजित भएर होली खेल्दा अप्रिर्य घट्नाहरु घट्नसक्ने भएकोले सौहार्दतापुर्ण वातावारणमा होली खेल्न आग्रह गरेको छ ।