भारतको बिकासले नेपालतर्फ बिनास, सुन्ने कसले ? (फाेटाे फिचर‍)

५ बर्ष अघि

२0७५ फाल्गुन २९ बुधबार

भारतको बिकासले नेपालतर्फ बिनास, सुन्ने कसले ? (फाेटाे फिचर‍)

दृष्टिकोण समाचार, २९ फागुन दार्चुला । नेपाल—भारत दुईदेशको सीमा क्षेत्र पर्ने उत्तर पश्चिमी नाका व्याँस गाउँपालिका वडा नम्बर २ घाँटीबगड, बयानीधार क्षेत्रमा भारतले सडक निर्माण गरिरहेको छ । बीचमा महाकाली नदीले दुई देशको सीमा छुट्याएको छ । दुबै देशबाट उत्तरतीर जाँदा महाकाली नदी किनार भएर जानु पर्ने बाटो छ । तर भारत तर्फ अहिले सो क्षेत्रमा सडक निर्माण भईरहेको छ भने नेपाल तर्फ घोरेटो बाटो छ । 


भारतले निर्माण गर्न लागेको सडकमा दिनहुँ जिलेटीन विष्फोट गर्ने गरेको छ । भारततर्फ बाटो निर्माणका लागि विष्फोट गर्दा भारतबाट नेपाल तर्फ ढुँङ्गा आएपछि नेपालतर्फको बाटो ठाउँठाउँमा भत्केको छ भने महाकाली नदि थुनिएर ठाउँठाउँमा ड्याम बनेको छ । नदिले नेपाल तर्फ कटान गरी बाटो भत्काउनुका साथै नेपाल तर्फको सबै बन जंगल नष्ट गरेको तथा नेपाल तर्फबाट हिडडुल गर्न समेत अप्ठेरो हुने गरेको व्याँस गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष अशोक सिह बोहराले जानकारी दिनुभयो । 


नेपाल तर्फ चालु आर्थिक बर्षमा मात्रै ब्याँस गाउँपालिकाले लाखौँ रुपैँया खर्च गरेर छाङरुसम्म जाने घोरेटो बाटो निर्माण गरेको थियो । नेपाल तर्फ बाटोघाँटो नहुँदा व्याँस गाउँपालिका वडा नम्बर एकका छाङरु र तिङ्करका स्थानीयहरुले बर्षौदेखि भारतीय भूमिबाट आवतजावत गर्ने गरेका छन् । तर भारतीय पक्षको कडा चेकजाँचका कारण दार्चुला जिल्ला सदरमुकाम माथिको क्षेत्रका स्थानीयलाई आवतजावतमा समस्या भईरहेकै बेला भारतले एकतर्फी रुपमा सडक निर्माणको क्रममा विष्फोटक पदार्थ पड्काएर नेपालतीर क्षति हुँदा समेत सम्बन्धित पक्ष नेपाल सरकारले ध्यान नदिएको प्रति व्याँसका स्थानीयले गुनासो गरेका छन् । 


दुईदेशले सीमाक्षेत्रमा कुनैपनी संरचना निर्माण गर्दा एक अर्कालाई नोक्सानी नहुने किसिमले संरचना निर्माण गर्नु पर्ने कानुन भएपनि नेपाल तर्फ त्यसको बारेमा कुनै जानकारी नगराएको र आफुले भारतीय पक्षलाई यसबारेमा जानकारी लिने दार्चुलाका प्रमुख जिल्ला अधिकारी शंकरबहादुर बिष्टले जानकारी दिनुभयो ।
त्यसो त नेपाल तर्फ दुहूँ गाउँपालिका वडा नम्बर ३ राताकाठा क्षेत्रमा सडक निर्माण गर्ने क्रममा भारतको तपोवन क्षेत्रमा ढुङ्गा जाने भन्दै कम मात्रामा विष्फोटक पदार्थ प्रयोग गर्नु पर्दा राताकाठा क्षेत्रमा दार्चुला तिङ्कर सडकको ट्रयाक राम्ररी खुलेको छैन् । सोही क्षेत्रमा सडकको ग्रेड नमिलेको र साँघुरो सडकका कारण फागुन १७ गते ११ जनाको ज्यान जानेगरी जिप दुर्घटना भएको थियो । आँखिर भारतीय यो प्रबृतिको बारेमा कसले बोल्ने ? कसले सुन्ने ? कहिले सम्म नेपालीले सीमा क्षेत्रमा पीडा सहेर बस्ने ? यो प्रश्न अझै अनुत्तरीत छ ।