प्रचण्डले गरे दार्चुलाका ११ जना मृतकका परिवारलाई क्षतिपूर्तिको माग

५ बर्ष अघि

२0७५ फाल्गुन २१ मंगलवार

प्रचण्डले गरे  दार्चुलाका ११ जना मृतकका परिवारलाई क्षतिपूर्तिको माग

 दृष्टिकोण समाचार फागुन १८ दार्चुला  नेपाल कम्युनिस्ट पार्टी ‘नेकपा’का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दार्चुलाका  ११ जनाको ज्यान जाने गरी शुक्रबार भएको जीप दुर्घटनाले मर्माहित भएको बताएका छन् ।
शनिवार एक समवेदना वक्तव्य जारी गर्दै प्रचण्डले दुर्घटना न्यूनीकरणका लागि सडकको अवस्था सुधार्न समेत माग गरेका छन् ।
दिवंगत यात्रुप्रति श्रद्धाञ्जली अर्पण गर्दै प्रचण्डले शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका हुन् । दुर्घटनामा निधन भएका व्यक्तिका परिवारजनलाई क्षतिपूर्ति दिन समेत अध्यक्ष प्रचण्डले माग गरेका छन् ।
‘दार्चुला जिल्लाको तिंकर सडकअन्तर्गत दुहुँ गाउँपालिका–३ राताकाठा क्षेत्रमा शुक्रबार राति जिप दुर्घटनामा परी ११ जनाको मृत्युको खबरले अत्यन्त मर्माहित भएको छु । उक्त दुर्घटनामा परी निधन हुनुभएकाहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गर्दछु ।
दुर्घटनामा परी निधन हुनुभएका परिवारजनलाई उचित क्षतिपूर्तिको माग गर्दै नेपालका पहाडी भू–भागहरुमा भइरहेका यसप्रकारका सडक दुर्घटना न्यूनीकरण गर्न सम्बन्धित सबैमा आग्रह गर्दछुु । 
सवारी क्षमताभन्दा बढी यात्रु बोक्ने र सडकको अवस्था विचार नै नगरी यातायात सञ्चालनको अनुमति दिँदा यसप्रकारको दुर्घटना भई जनधनको क्षति भइरहेकोप्रति गम्भीर ध्यानाकर्षण गराउँदछु । देशैभरिका सडकहरूको स्तरोन्नति गरी सुरक्षित सडकको रुपमा विकास गर्न सरकारसँग आग्रह गर्दछु,’ वक्तव्यमा भनिएको छ ।