दार्चुला जिप दुर्घटनाः मृतक सबैको सनाखत भयो (अपडेट) 

५ बर्ष अघि

२0७५ फाल्गुन १८ शनिबार

दार्चुला  जिप दुर्घटनाः मृतक सबैको सनाखत भयो (अपडेट) 

दृष्टिकोण समाचार, १८ फागुन दार्चुला । शुक्रबार राती दार्चुला तिङ्कर सडक खण्डको राताकाठामा भएको जीप दुर्घटनामा परी ज्यान गुमाउने सबै ११ जनाको सनाखत भएको छ । हिजो राती घटनास्थलबाट मृतकको लास संकलन गरी जिल्ला अस्पताल दार्चुलामा ल्याईएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।  जीप दुर्घटनामा परी मृत्यु हुनेहरुमा दुहुँ गाउँपालिका वडा नम्बर २ बस्ने ४५ बर्षका कल्यानसिह बडाल, वहाँकै छोरी बर्ष १५ कि निर्मला बडाल, दुँहुँ गाउँपालिका वडा नम्बर २ बस्ने ३५ बर्षीया परुली धामी रहेका छन् । त्यसैगरी दुहुँ गाउँपालिका १ बस्ने ५४ बर्षका धन बहादुर बम, दुहुँ गाउँपालिका वडा नम्बर ४ दौला बस्ने बर्ष ५५ कि अम्मरा बम, सोही ठाउँकी बर्ष ४ कि आयुसा बम, दुहुँ गाउँपालिका वडा नम्बर १ पीपलचौरी बस्ने ४५ बर्षिया गोमती बम र सोही ठाउँकी बर्ष ७१ की धाना बम रहेका छन् । 
त्यस्तै बैतडी जिल्ला दोगडाकेदार गाउँपालिका ६ सित्तड बस्ने ६० बर्षका प्रताप चन्द भनिने धनबहादुर चन्द, सोही ठाउँ बस्ने बर्ष २०÷२१ कि स्नेहा चन्द र दुहुँ गाउँपालिका वडा नम्बर १ बस्ने ५३ बर्षीया मानमती भट्ट रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । सोही दुर्घटनामा जिप चालक दिपकसिह धामी गम्भीर घाइते भएका छन् । घाइतेको थप उपचारका लागि शुक्रबार राती नै भारतको पीथौरागढ लगिएको छ । 
दुर्घटनामा परी मृत्यु भएका सबैको शनिबार जिल्ला अस्पताल दार्चुलामा पोष्टमार्टम गरी शव आफन्तको जिम्मा लगाइने जिल्ला प्रहरी कार्यालय दार्चुलाका निमित्त प्रहरी प्रमुख रविन्द्र कठायतले जानकारी दिनुभयो । 
जिप दुर्घटनाको कारण खुल्न सकेको छैन् । दुर्घटना स्थल राताकाठा क्षेत्रमा सडक चौडा गर्ने कार्य भईरहेको छ । तर सो क्षेत्रमा कुनै पनि सवारी साधनहरु सञ्चालनमा रोक लगाइएको थियो ।