महाकाली नदीको पानी प्रयोगसम्बन्धी भारतसँग गरिएको सम्झौता कार्यान्वयन हुनुपर्छ: प्रम ओली

५ बर्ष अघि

२0७५ फाल्गुन १४ मंगलवार

महाकाली नदीको पानी प्रयोगसम्बन्धी भारतसँग गरिएको सम्झौता कार्यान्वयन हुनुपर्छ: प्रम ओली

दृष्टिकोण समाचार  फागुन १४  ।    प्रधानमन्त्री केपी शर्मा ओलीले महाकाली नदीको पानी प्रयोगसम्बन्धी भारतसँग गरिएको सम्झौंता कार्यान्वयनमा ढिलाइ गर्न नहुने स्पष्ट पार्नु भएको छ । 

प्रधानमन्त्री ओलीले महाकाली सन्धीको सम्झौता अनुसार नेपालले पाउनुपर्ने भनी उल्लेख गरिएको महाकाली नदीको पानीसम्बन्धी सम्झौता कार्यान्वयन गराउने गरी भारतीय पक्षसँग खुलेर कुरा गर्न पनि उर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयलाई निर्देशन दिनुभयो ।

नेपाल–भारत उर्जा विज्ञहरुको संयुक्त बैठक बुधबार काठमाण्डाैमा बस्दैछ । त्यसको अघिल्लो दिन प्रधानमन्त्री ओलीले पञ्चेश्वर बहुउद्देश्यीय आयोजना कार्यान्वयनबारे उर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयको ब्रिफिङ सुनेपछि महाकाली नदीबाट नेपालले प्रयोग गर्न पाउने पानी र त्यसका लागि भारतीय पक्षले नहर बनाउने भनी गरिएको सम्झौता कार्यान्वयनमा केन्द्रित हुनुपर्ने आवश्यक्ता औंल्याउनु भयो ।

प्रधानमन्त्री ओलीले महाकाली नदीको पानी नेपालले प्रयोग गर्न पाउने गरी गरिएको सम्झौता कार्यान्वयनका लागि भारतसँग कुरा गर्न निर्देशन दिनु भएको उर्जा, जलस्रोत तथा सिँचाई मन्त्री वर्षमान पुनले जानकारी दिनु भयो ।

प्रधानमन्त्री ओलीले नेपालको राष्ट्रिय हितलाई ध्यानमा राखेर भारतीय पक्षसँग कुरा गर्न पनि उर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयलाई सचेत गराउनु भएको थियो ।

२३ वर्ष अघि भएको महाकाली सन्धि अनुसार नेपालले पाउनुपर्ने चाँदनी–दोधारा क्षेत्रमा १० घन मिटर प्रतिसेकेन्ड पानी हालसम्म पनि नपाएपछि प्रधानमन्त्री ओलीले यस सम्बन्धमा भारतसँग खुलस्त कुरा राख्न सम्बन्धित निकायलाई निर्देशन दिनु भएको हो । सो सन्धी कार्यान्वयन गर्ने कुरालाई नेपालले प्राथमिकताका साथ अघि बढाउनुपर्ने प्रधानमन्त्री ओलीकाे भनाइ थियो ।

२०५२ साल माघ १९ गते भएको महाकाली सन्धिमा उल्लेख गरिएको भारतले नेपाली पक्षलाई उपलब्ध गराउने पानी र विद्युतसम्बन्धी सम्झौता अझै कार्यान्वयन हुन सकेको छैन ।