कलावतीको जिवनमा गोलभेडाले ल्यायो परिवर्तन

६ बर्ष अघि

२0७५ जेष्ठ १९ शनिबार

कलावतीको जिवनमा गोलभेडाले ल्यायो परिवर्तन

दृष्टिकोण समाचार, दार्चुला । गर्ने हो भने असम्भव कुरा केही हुदैन भन्ने उदाहरण सावित गर्दै मालिकार्जुन गाउँपालिका वडा नम्बर ४ हुनैनाथ ऐरिछानाका एक दम्पतीले सावित गरेका छन् । खानलाई समेत एक घण्टा हिडेर पानी बोक्नु पर्ने बाध्यता रहेको ऐरिछाना बस्तीमा खानेपानीको सहजता भएसँगै त्यहाँका किसानहरुले व्यवसायिक तरकारी खेती सुरु गरेका छन् । 
तीनै मध्येका हुने सुरेशसिह धामी र कलावती धामीको दम्पती । घर नजिकै रिड्स दार्चुला अन्तरगत सञ्चालित साना तथा मझौला कृषक आयस्तर बृद्धि आयोजना रिजमएफपीको आर्थिक सहयोगमा पोलीहउस, प्लाष्टिकघर निर्माण गरी तरकारी खेती सुरुवात गरेका छन् । 
कलावती दम्पतीले अहिले उक्त घरमा गोलभेडा खेती गरी गोलभेडा फलाएर बजारमा विक्री गरिरहेका छन् । थोपा सिचाईको माध्यमबाट तरकारी खेती गर्दै हालसम्म गोलभेडा खानलाई प्रसस्त फलाउनुको साथै १० हजारसम्मको गोलभेडा बेचेका छन् । अझै उनको बारीमा २५ देखि ३० हजार सम्मको गोलभेडा फल्ने अनुमान सुरेश दम्पतीको छ । 
सिजनमा एक जातको तरकारीबाट ४०÷५० हजार रुपैँया कमाइनुलाई उनले आफ्नो प्रगती ठानेको र आगामी दिनमा व्यवसायिक तरकारी खेतीबाटै जिवन धान्ने गरी यसै पेशालाई अगाल्ने कलावती धामीको भनाई छ । 
काम गर्ने इच्छाशक्ति भएमा जुनसुकै कामबाट पनि फाइदा हुने सुरेशसिह धामीको बुझाई छ । अहिलेको उत्पादनका लागि बजारीकरण त्यति सहज नभएपनि भोलीका दिनमा प्रसस्त तरकारी उत्पादन गरी बजारीकरणलाई पनि बढावा दिने सोचका साथ ऐरिछानाका कृषकहरु तम्सीएका छन् । अहिले ऐरिछाना बस्तीमा ३५ वटा प्लाष्टिक घरहरु निर्माण गरी कृषकहरुले गोलभेडा खेती गरेको कृषक समूहका अध्यक्ष धनसिह धामीले जानकारी दिनुभयो ।