३ मिनेट ढिलो पुग्दा जापानका मन्त्रीले माफी माग्नुपर्‍यो

५ बर्ष अघि

२0७५ फाल्गुन १२ आईतवार

३ मिनेट ढिलो पुग्दा जापानका मन्त्रीले माफी माग्नुपर्‍यो

१२ फागुन, काठमाडौं । नेपालका प्रधानमन्त्री, मन्त्री वा राजनीतिक दलका अधिकांश नेताहरु समयमा कार्यक्रमस्थल पुग्दैनन् । सभा, सम्मेलन, बैठक वा कुनै सार्वजनिक कार्यक्रममा नेताहरुलाई घण्टौं कुर्नुपर्ने विषय नेपालमा सामान्य बनिसकेको छ ।तर, जापानका एक मन्त्रीले तीन मिनेट ढिलो कार्यक्रममा पुगेको कारण विरोधको सामना मात्र गर्नुपरेन, क्षमासमेत माग्नु परेको छ ।जापानका ओलम्पिक्स मामिलासम्बन्धी मन्त्री योशीताका साकुरादा संसदीय बैठकमा तीन मिनेट ढिलो पुगेका थिए । बैठकमा ढिलो आएर अपमान गरेको भन्दै विपक्षी सांसदहरुले पाँच घण्टासम्म बैठक बहिस्कार गरिदिए । त्यसपछि मन्त्री योशीताका साकुरादाले क्षमा मागे ।मत सर्वेक्षणमा ‘अयोग्य’ मन्त्रीजापानमा पूर्वनिर्धारित समयभन्दा ढिलो पुग्नु राम्रो मानिँदैन ।

सन् २०१८ को अक्टोबर महिनामा मन्त्री नियुक्त योशीताका कार्यक्रममा ढिलो पुग्ने र जथाभाबी बोल्ने गरेका कारण आलोचित छन् ।जापानमा उनको योग्यताबारे आसाही सिम्बुन पत्रिकाले मत सर्वेक्षण पनि गरेको थियो । सर्वेक्षणमा उनको पक्षमा १३ र विपक्षमा ६५ प्रतिशत मत परेको नतिजा सार्वजनिक भएको थियो ।दोस्रो विश्व युद्धताका जापानी सैनिकलाई मनोरञ्जन गराउन बाध्य पारिएका महिलाहरूलाई ‘व्यावसायिक वेश्या’को संज्ञा दिएपछि उनी निकै आलोचित भएका थिए ।साइबर सुरक्षा मामिलाको समेत जिम्मेवारी सम्हालेका उनले आफूले कहिल्यै कम्प्युटर नचलाउने र सधैं कर्मचारीको सहयोग लिने गरेको बताउँदा पनि आलोचना भएको थियो ।पछिल्लो पटक ल्यूकेमिया रोगबाट पीडित जापानकी पौडी खेलाडी रिकाको इकीको विषयमा दिएको अभिव्यक्तिमा पनि उनको आलोचना भएको थियो । रिकाको इकीलाई ल्यूकेमिया रोग लागेको खुलासा भएपछि मन्त्री योशीताकाले भनेका थिए, ‘उनीप्रति हाम्रो ठूलो आशा थियो, म निराश भएको छु ।’